पौष १५ गते २०७७

चिनियाँ टोलीको ‘मिशन’ असफल

काठमाडौँ, १५ पौष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल सो ‘मिशन’ सफलता हात पार्न नसकी फर्किएको छ । गएको आइतबार काठमाडौँ आएको टोली चार दिनपछि बुधबार स्वदेश फर्किएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभक्त भयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जितपिङको एकता सन्देश लिएर टोली आएको थियो ।चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको टोलीले आएकै दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

भोलिपल्ट सोमबार चिनियाँ टोलीले विभाजित नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भिन्दाभिन्दै भेट गर्‍यो । टोलीले नेताहरु झलनाथ खनाल, कृष्णबहादुर महरा , सभामुख अग्नि सापकोटा तथा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा। बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो ।