असाेज ७ गते २०७७

प्रेस काउन्सिलद्वारा पोखराका श्रेष्ठ र कँडेल सम्मानित


६ असोज,काठमाडौं
प्रेस काउन्सिल नेपालले पोखराका दुई जना पत्रकारसहित देशभरका झन्डै दर्जन पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुने पोखराका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ र राष्ट्रिय समाचार समिति का फोटो पत्रकार राधिका कडेंल रहेका छन्।

प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सव समारोहमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले महासंघ कास्की अध्यक्ष श्रेष्ठलाई काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार तथा फोटो पत्रकार राधिका कँडेललाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका थिए।

काठमाण्डौको सञ्चारग्राममा आयोजित कार्यक्रममा सभामुख सापकोटाले श्रेष्ठलाई क्रियाशिल पत्रकारिता पुरस्कारको राशी रु २० हजार सहित सम्मानपत्र तथा कँडेललाई युवा पत्रकारिता पुरस्कारको राशी रु १५ हजार र सम्मानपत्र प्रदान गरेका थिए ।

महासंघ अध्यक्ष श्रेष्ठ पोखरामा विगत दुई दशकदेखि पत्रकारिता पेशमा क्रियाशिल छन् भने फोटो पत्रकार कंडेल एक दशकदेखि पोखरामै पत्रकारितामा क्रियाशिल छिन ।