वैशाख १९ गते २०८०

पूर्व अध्यक्षहरुले प्रदेश र केन्द्रमा प्रतिनिधि दाबी गरेपछि टे«ड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्व चयन स्थगित

कमल पौडेल अथक
पोखरा १९, बैशाख
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्वको लागि भएको कसरत अन्तिम समयमा आएर सोमवार राति स्थगित भएको छ । अधिवेशनमा निवर्तमान अध्यक्ष विजयराज भण्डारी र पूर्व अध्यक्ष कुलदेवी वरालले प्रदेश र केन्द्र दुवै स्थानमा प्रतिनिधि दावी गरेपछि निर्वाचन स्थगित भएको हो ।
विधान अनुसार प्रदेश र केन्द्र दुवैमा प्रतिनिधिले दावी गर्न नमिल्ने निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाले बताए । उनले भने– प्रतिनिधिको दावी विधान अनुसार प्रदेश वा केन्द्र एक ठाउँमा मात्र रहन्छ । यदि दुवै स्थानमा दावी गर्ने हो भने दुवै दावी खारेज हुने उनले चेतावनी दिए ।
पूर्व अध्यक्ष कुलदेवी वरालले महिलाको केन्द्र र प्रदेशमा संख्या थोरै भएकोले आफूले प्रदेश र केन्द्र दुवैमा प्रतिनिधि दावी गरेको र विधानले नमिल्ने भए एक ठाउँमा मात्र वस्ने बताइन् ।
तर निवर्तमान अध्यक्ष विजयराज भण्डारीले आफूले प्रदेश र केन्द्र दुवैमा प्रतिनिधि नछोड्ने जिकिर गरे । उनको यो जिकिर पछि राति त्यहाँ प्रतिनिधिहरुले विरोध गरेका थिए । पूर्व अध्यक्षहरुलाई नै प्र्रदेश र केन्द्रमा प्रतिनिधि वस्नु पर्ने हो भने यो निर्वाचन किन चाहियो उनीहरुले प्रतिप्रश्न गरेका थिए ।
प्रतिनिधिहरुले निवर्तमान अध्यक्ष विजयराज भण्डारीको कार्यशैलीको चर्को विरोध गरेका थिए । अन्तिम समयमा निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले विभिन्न कारणले गर्दा आज तोकिएको निर्वाचनमा मतदान हुन सक्दैन भन्दै तत्कालको लागि निर्वाचन स्थगित गरेको घोषणा गरे ।
अघिल्लो निर्वाचनमा पनि ट्रेड युनियन कांग्रेसको अध्यक्ष बन्न ट्रेड अगुवाहरु जीतवहादुर गुरुङ र केशवराज भट्टराईले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए ।
सो बेलापनि उनीहरु दुवैलाई मिलाउने कसरत असफल भएपछि भोलिपल्ट नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा लगेर भण्डारीलाई पार्टीको एउटा खेमाले अध्यक्षमा टीको लगाएको ट्रेड अगुवाहरुको भनाई छ ।
भण्डारीको कार्यकालमा पूर्ण बैठक समेत वस्न नसकेको र उनी पार्टीको एउटा गुटको एस मेन मात्र भएको ट्रेड अगुवाहरुले वताए । पेसाले अबकास प्राप्त शिक्षक रहेका भण्डारी मजदूरका समस्यामा अनुदार रहेको उनीहरुको ट्रेडकर्मीहरुको भनाई छ ।
यता सोमवार मतदान रोकिएपनि आकांक्षीहरुको मनोनयन दर्ता भइसेकेको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त रोकिएको निर्वाचन यही बैशाख २३ गते शनिवार विहान ८ वजे हुने निर्वाचन समितिका संयोजक तिमिल्सिनाले जानकारी दिएका छन् ।
नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा निवर्तमान वरिष्ठ उपाध्यक्ष कमलवहादुर सापकोटा र सचिव रुद्र तिमिल्सिनाको आबेदन परेको छ । टे«ड युनियनन कांग्रेसका विभिन्न १८ वटा घटककका प्रतिनिधिहरुले मतदान गर्नेछन् । २ सय २० जना प्रतिनिधिको मताधिकार रहेको समितिले जनाएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले देशको विकासको लागि कांग्रेसवाहेक अन्य राजनीतिक शक्ति नभएको वताए । उनले लामो इतिहास बोकेको पार्टी भित्र भएका केही वेथिति हटाउन सकियो भने यसले नेपालीको भाग्य कोर्ने वताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, प्रदेशका महासचिव विष्णुप्रसाद लामिछाने, प्रदेशसभा सदस्यहरु प्रकाश वराल, सरस्वती गुरुङ, पूर्व मन्त्री यज्ञवहादुर थापा, कास्की सभापति किशोरदत्त वराल, नेपाल ट्रेड युनियन काग्रेसका प्रदेश अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्य जीतवहादुर गुरुङ, कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङ, लालीमाया रेग्मी लगायतले वोलेका थिए ।