भाद्र १६ गते २०८३

स्याङ्जामा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान

स्याङ्‌जा १६, भदौ

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान सम्पन्न भएको छ । गण्डकी प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा मंगलबर  सो अभियान सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले भाषा शुद्ध र सरल बनाउन भाषाका जानकारलाई गरिन् । उनले भाषिक शुद्धताले देशको शीर उचो बनाउने बताउँदै जथाभावि प्रयोग र लापरवाही हटाउँदै जानुपर्ने बताईन् ।

 

 

उनले प्रतिष्ठानले सञ्चालन गरेको अभियानलाई गण्डकी सरकारको तर्फबाट पूर्ण सहयोग र समर्थन रहने धारणा व्यक्त गरिन् । भोलिका सन्ततिको लागि भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्ने काममा आजैदेखि लाग्न मन्त्री गुरुङले सरोकारवाला निकायहरुलाई अनुरोध गरिन् ।

नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपायहरु विषयमा गोष्ठीपत्र प्रस्तुत गर्दै कार्यक्रम संयोजक एवम् गोष्ठीपत्र प्रस्तोता प्राज्ञ कमल पौडेल अथकले जानेर वा नजानेर भाषागत त्रुटि हुने गरेको बताए । उनले भाषालाई शुद्ध बनाउने अभियान सबैभन्दा पहिला हरेक सरकारी कार्यालयबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति प्रा. डा कुसुमाकर न्यौपानेले कामकाजको सिलसिलामा कार्यालयमार्फत प्रयोग भएका भाषागत त्रुटिले नागरिकले दुःख पाएको बताए । उनले भाषा शुद्ध पार्ने अभियान अन्तर्गत सुरुमा प्रतिष्ठानको कार्यालय गण्डकी, दोस्रोमा पर्वत, तेस्रोमा वाग्लुङ हुँदै चौथोमा स्याङ्जा जिल्लामा अभियान सञ्चालन गरेको बताए । उनले यो अभियान गण्डकी प्रदेशका सबै जिल्ला र पालिकाहरूमा समेत सञ्चालन गरिने जानकारी दिए ।

 

पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले प्रतिष्ठानले आम नागरिक लाभान्वीत हुने कार्यक्रम सञ्चालन गरेको भन्दै अन्य जिल्लामा पनि सो अभियान फैलाउन आग्रह गरे । गोष्ठीले भाषामा भएको लापरवाहीप्रति सजग गराउन भूमिका खेल्ने धारणा व्यक्त गरे। सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लक्षित कार्यक्रममा उप-प्रमुख देवी अर्याल, उपकुलपति शंकर बिरही गुरुङ, पुतलीबजार नगर कुलपति विश्वप्रेम अधिकारी र शिक्षा अधिकृत शोभा बस्याल लगायतले बोलेका थिए ।