भाद्र ३ गते २०८३

पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

पोखरा, भदौ ३
१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मार्फत फोटोग्राफीको महत्वसँगै पोखराका फोटोग्राफर बीच आपसी एकता, सहकार्य र सद्भावको सन्देश दिएको हो ।
बुधबार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरीमा विभिन्न क्षेत्रका फोटोग्राफर तथा संघका पदाधिकारीहरूको सहभागिता थियो । प्रभातफेरी न्यूरोड संगमटोल स्थित संघको कार्यालय परिसरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । संघको नयाँ कार्यालयको उद्घाटन संस्थाका पूर्वअध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले गरेका थिए ।

उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै पौडेलले विश्व फोटोग्राफी दिवस नेपालभर विभिन्न कार्यक्रम सहित उत्साहपूर्वक मनाइएको बताए । पोखरामा आयोजित प्रभातफेरी र नयाँ कार्यालय उद्घाटनले फोटोग्राफरहरू बीचको एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा फोटोग्राफीको महत्व, यसको सम्भावना र अवसरसँगै पछिल्लो समय देखिएका चुनौतीबारे चर्चा गरिएको थियो। वक्ताहरूले प्रविधिको तीव्र विकाससँगै फोटोग्राफी क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै नयाँ प्रविधिलाई आत्मसात् गरी व्यावसायिकता, सिर्जनशीलता र गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखेका थिए।
फोटोग्राफी केवल तस्बिर खिच्ने माध्यम नभई समाज, संस्कृति, प्रकृति, इतिहास र महत्वपूर्ण घटनालाई अभिलेख गर्ने प्रभावकारी माध्यम भएको वक्ताहरूको भनाइ थियो। डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै फोटोग्राफीको क्षेत्र थप फराकिलो बनेकाले व्यवसायलाई समयअनुकूल बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

दिवसका अवसरमा संघका पूर्वअध्यक्ष तथा संरक्षक गणेश छवी, निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेल, पूर्वअध्यक्षहरू जयन्द्रकुमार राजभण्डारी, बलराम शर्मा, राममणि पौडेल, घनश्याम पौडेल, तुलसीराम सुवेदी, रबिनाथ दाहाल, पत्रकार इन्द्रप्रसाद पौडेल, प्रा।डा। चन्द्रबहादुर गुरुङ तथा पूर्व महिउपसमिति संयोजक तीर्थ श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए।
संघका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव लक्ष्मीपती पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित कार्यक्रमले पोखराका फोटोग्राफर बीचको आत्मीयता, आपसी सम्बन्ध र व्यावसायिक एकतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। नयाँ कार्यालयलाई फोटोग्राफरहरूको साझा थलोका रूपमा विकास गर्दै आगामी दिनमा फोटोग्राफी क्षेत्रको विकास, व्यवसायीको हकहित र क्षमता अभिवृद्धिका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।।