असाेज ५ गते २०८१

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान

असोज ५ ,नेपालगञ्ज
चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वोत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लव (PJ Club) का पूर्व अध्यक्ष विकास काकीर्को नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation), कृषी (Agriculture), खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् । हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिनेछ ।
‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ’ — अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’
फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणकालागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु राजधानी काठमाण्डौं र मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस बर्ष देखि दोब्बर बृद्धि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइएको छ ।
दोस्रो संस्करण सम्म लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करण देखि देशव्यापी बनाइएको थियो ।
राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्ष देखि पुरस्कार राशी बृद्धि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् ।
यसैगरी हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु ५ हजार सहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष बृद्धि गरिने भएको छ ।यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले रु। ५० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
टप २५ वटा फोटोहरु मध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् ।
फोटो छनौट पछि १५ दिनको समय दिएर अनलाइन भोटिङ्ग खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर सद्भावना दूत का रुपमा रहने छन ।

 

फोटो पठाउन तलको लिंकमा जानुहोला

antaral.com.np