असार ३ गते २०७९

हेमजा गोल्डकपको तयारी पुरा, उद्घाटनमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने

हेमजा, ३ असार
‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । हेमजा यूनाइटेडको आयोजनामा असार ४ देखि ११ सम्म गौरीशंकर खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने छन् ।
कुल ८ टिमले भाग लिने प्रतियोगिताको दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी, तेस्रो खेल खुमलटार युवा क्लब र बागमती युवा क्लबबीच हुनेछ । क्वाटरफाइनलको अन्तिम खेल असार ७ मा फुटबल क्लब डाउला र विभागीय टोली सशत्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २०र२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५र२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँचसय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगिताबाट बचेको रकम एकेडेमी तथा गौरी शंकर खेलमैदान निर्माण तथा स्तरोन्नतीका लागी खर्च गरिने छ ।