जेठ २८ गते २०७९

पोखरामा नाटक ‘धनीरामको गोरु’ मञ्चन हुने

पोखरा, २८ जेठ । इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक धनीरामको गोरु पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको नाटक असार ११ मञ्चन हुँदैछ ।
केदारनाथ पौडेल को लेखन रहेको नाटक ‘धनिरामको गोरु’ को निर्देशन कपिल शर्माले गरेका छन् ।

गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण गर्दै नाटक तयार पार्न लागिएको निर्देशक कपिल शर्माले बताउनुभयो । कृषि पेशामा निर्भर परिवार कसरी महिलाको श्रममा भर पर्छ भन्ने यथार्थता नाटकमा देखाउन खोजिएको उहाँले सुनाउनुभयो । ‘यो नाटकमा रगंमञ्चको कुनै सिद्धान्त र वाद प्रयोग गरिएको छैन, सामान्य ढंगले ग्रामीण जनजीवनलाई प्रस्तुत गरिएको छ’ निर्देशक शर्माले भन्नुभयो । नाटकमा प्रयोग गरिएको भाषा, शैली, भेषभुषाले दर्शकलाई गाउँलेपनको आभाष गराउँदै मन जित्ने उहाँको विश्वास छ ।
नाटकमा राजेन्द्र अधिकारी, ज्योती हमाल, बिभु भुषाल, प्राञ्जल , निलम तामाङ, , आकाश दाहाल, , अनिल तिमील्सिना, , बिजय अधिकारी, , विनोद पौडेल, , विकास पौडल र ,प्रमिसा शिलवालकोअभिनय रहेको छ । नाटकको यतिबेला कलाकारले रिर्हसल गरिरहेका छन् । एक घण्टा अवधिको यो नाटक असार ११ गते पोखरा १ बगर उपल्लो क्याम्पसगेटमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको हलमा मञ्चन गरिनेछ ।