कार्तिक ३ गते २०७८

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा, ३ कार्तिक ।

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित बनिसक्नुभएका प्रशिक्षकहरुले सहजिकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताउनुभयो । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण कार्यक्रम गरिसकेको उहाँको दावी छ । ‘नाटकले मनोरञ्जन मात्र दिदैन, सन्देश पनि दिन्छ, यसको बेग्लै महत्व भएकोले गण्डकी प्रदेशका ११ जिल्लाका सहभागीलाई तालिम दिन लागिएको हो’ कुलपति विखर्चीले भन्नुभयो । प्रशिक्षार्थीले तालिममा सिकेका सिपलाई आफ्नो जिल्लामा गएर प्रयोग गर्न थालेपछि नाट्य गतिविधि बढ्ने उहाँको विश्वास छ । ‘तालिममा सिकेका सिपहरु प्रशिक्षार्थीहरुले आफ्नो जिल्लामा गएर प्रयोग गर्नुहुनेछ जसका कारण गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई क्रियाशिल बनाउन सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास हो’ उहाँले थप्नुभयो ।

गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको भनाई छ । ‘नाटक प्रतिको आर्कषण बढाउनको निम्ती कार्यशालाको आयोजना गरेका हौँ’ उहाँले भन्नुभयो । प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्तिको उत्पादन गर्नु आफूहरुको उद्धेश्य रहेको उहाँले सुनाउनुभयो । ‘प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्ति उत्पादन गरेर उहाँकै माध्यमबाट सो जिल्लामा नाट्य गतिविधि हुने वातावरण निर्माण गर्नेछौ’ श्रेष्ठले बताउनुभयो । नाट्य क्षेत्रको लािग थप कार्यक्रम आयोजना गर्ने तयारीमा समेत आफूहरु रहेको उहाँले खुलाउनुभयो ।

नाटक निर्देशन कार्यशालाको लागि सहकार्य गरिएको संस्था पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना हुन लागेको कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुशी छौँ, नाटक निर्देशन कार्यशालाले गण्डकी प्रदेशको नाट्य क्षेत्रमा सकारात्मक उर्जा थप्नेछ’ परिवर्तनले भन्नुभयो । हरेक जिल्लाबाट नाटकमा क्रियाशिल बनेका व्यक्तिहरुलाई कार्यशालामा सहभागी गराउन लागिएको उहाँको भनाई छ । ‘यो कार्यशालाले एउटा जग निर्माण गर्नेछ, रंगकर्मीलाई सक्रिय र संगठित बनाउन कार्यशालाले सघाउनेछ’ परिवर्तनले थप्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको जनाएको छ ।