जेठ २८ गते २०७८

आज अस्ट्रेलियासँग खेल्दै नेपाल, खेल ९:४५ बजे

काठमाडौं, २८ जेठ ।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले आफ्नो अन्तिम खेल खेल्दैछ।
समूह बी मा ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले आज पूर्वएसियन च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ।

१८ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ६ वटै खेलमा जित हात पारेको छ। दोस्रोको स्थानको जोर्डनको १० अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।