माघ २ गते २०७७

पत्रकार महासंघमा समय दृष्टिका सम्पादक पौडेल सहित एक दर्जन पत्रकार सम्मानित एवं पुरस्कृत

पोखरा, २ माघ ।

नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । महासंघले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो ।

जसमा अग्रज पत्रकार नारायण कार्कीलाई कीर्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरियो । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी सूर्यबहादुर केसी परिवारले स्थापना गरेको सो पुरस्कार पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको छ ।

यस्तै, पोखरा पत्रकारिता सम्मानबाट सूर्यप्रेम बहुउद्देश्यीय ट्रष्टलाई प्रदान गरियो । महासंघले व्यक्ति विशेष र संस्थालाई क्रमशः सो सम्मान प्रदान गर्दैआएको छ ।

दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट महासंघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भए । उनलाई ५५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरियो ।

गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, २०७७ बाट आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला सम्मानित भए । पुरस्कार राशि २५ हजार तथा सम्मानपत्र रहेको छ । आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र रहेको छ ।

टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार, २०७६ बाट समय दृष्टिका सम्पादक कमल पौडेल अथक र २०७७ बाट मोतिसागर अधिकारी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी, २०७७ बाट भीम थापा, मीना सृजनशील पत्रकारीता पुरस्कार, २०७६ बाट रोशनी गुरुङ पुरस्कृत भए ।

यस्तै, पत्रकार महासंघ कास्कीले उत्कृष्ट कार्यसमिति सदस्यको रुपमा कृष्ण दवाडीलाई १० हजार सहित सम्मान गर्यो भने कार्यालयसचिव जगत कार्कीलाई दीर्घसेवा सम्मान दिएको महासंघ कास्की अध्यक्ष दीपन्द्र श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ का कारण महासंघले वितरण गर्न नसकेका ती पुरस्कार साधारणसभाको अवसरमा एकै पटक वितरण गरिएको महासंघ जिल्ला सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।