पौष २७ गते २०७७

नेपालमा खोप प्राप्त भएको एक हप्ताभित्र वितरण

काठमाण्डौ, २७ पुष । नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताउनुभयो । निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उहाँको भनाइ छ ।
खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उहाँले बताउनुभयो ।