भाद्र २३ गते २०७६

यसरी रहनुहोस् स्वस्थ

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला ।

१. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ ।

२. बर्षको २ पटक रगत जांच मार्फत सुगर, लिपिड प्रोफाइल ( कोलेस्टेरोल ), किड्नी फंक्सन टेस्ट तथा युरिन टेस्ट गर्नुहोला ! बर्षको २ पटक यी जांच गर्दा महँगो पर्दैन ।

३. बर्षको १ पटक छातीको एक्स रे, पेटको अल्ट्रासाउण्ड, इसिजी ( मुटुको ) तथा महिलाले प्याप स्मेयर टेस्ट, थाइराइड फंक्सन टेस्ट गर्नुहोला ।

४. प्रेसर तथा सुगर बढेमा तुरुन्त चिकित्सकको सल्लाह बमोजिम औषधि सुरु गर्नु होला ! एकपटक खाए सधै खानुपर्छ भन्ने भ्रमको कारण धेरैको मृत्यु भएको पाइन्छ । सधै भनेको औषधि नखाएर बाँच्ने १-२ बर्ष कि औषधि खाएर बाँच्ने पुरा आयु ? यसमा ध्यान दिनु जरुरि छ ।

५. औषधि खाएपछि नर्मल भयो अर्थात ठिक भयो भनेर प्रेसर तथा सुगरको औषधि नछोड्नुहोला । त्यो नर्मल रेन्जमा ल्याएको औषधिले हो, पुरै निको भएर हैन । नर्मलभन्दा तल देखियो भने चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा घटाउन सकिन्छ वा चिकित्सकले छुटाउने अवस्था पनि हुनसक्छ ।

६. घ्यु, बोंसो, डिप फ्राइ गरेको, धेरै गुलियो तथा जंक फुड नखानुहोला । यस्ता खाना खाएर १ पाउको जिब्रो त खुसि होला तर पौने क्विन्टलको शरिर दुखी हुन्छ । कोल्ड ड्रिंक्स र अल्कोहल नखानु उत्तम ! खाएमा एकदम थोरै, लामो समयको अन्तरालमा ।

७. खानामा सागसब्जी, फलफुल, दुध, माछा, गेडागुडी जस्ता स्वस्थबर्धक खाना खानुहोला ।

८. आफ्नो तौल नियन्त्रणमा राख्नुहोला ! ठूलो पेट तथा धेरै वेट ( तौल ) रोगका जननी हुन् ।

९. शारीरिक अभ्यासलाई जीवनको अंग बनाउनुहोला ।

१०. क्रोध, अहंकार,लोभ तथा धेरै तनावबाट बच्नुहोला । नियमित योग,ध्यान गर्नुहोला ।

( दिनको एक कप चिया खर्च बचाएर राख्नुहोस, त्यो पैसाले बर्षभरको सामान्य स्वास्थ्य परीक्षण गर्न पुग्छ । )