मंसिर १३ गते २०७९

घाइते नगर प्रहरीलाई मेयर बालेन र उपमेयर डंगोलले भेटे

 

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ अस्पतालमा पुगेका थिए।

थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा भएको झडपमा घाइते भएर उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन मेयर बालेन र उपमेयर डंगोल नर्भिक पुगेका थिए।

साँझ करिब पौने ८ बजेतिर नर्भिक पुगेका बालेनले त्यहाँ उपचार गराइरहेका नगरप्रहरीको अवस्थाबारे डाक्टरहरूसँग बुझेका थिए। उनलाई चिकित्सकले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट लागेको र उनीहरूलाई अब्जर्भेशनमा राखिएको जानकारी गराएका थिए।

यसबीच काठमाडौं महानगरले ‘अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कानुनी कारवाहीका लागि प्रहरी परिसर टेकुलाई पत्राचार गरेको’ जनाएको छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।