माघ १९ गते २०८०

आज बिश्व सिमसार दिवस
माघ १९,पोखरा
विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भूभाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ । अर्थात् बाह्रै याम पानी नसुक्ने भूमि हुन् । जसमा सामान्यतया दलदल या हिलो सधैँ कायम रहन्छ । खास गरी सिमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा चुँरुङ्गीहरुको पनि वासस्थान मानिन्छ ।
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू ९जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
वास्तवमा भन्ने हो भने मानवीय विकास क्रम अनि पूर्वाधारहरूको निर्माण क्रमले नेपालमा सिमसार क्षेत्रहरु अतिक्रमणमा परेका छन् ।यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल हुने र बिभिन्न चराचेरुङ्गीहरु देखीने भएकाले पर्यटकिय र पर्यावरणिय हिसावले महत्पूर्ण हेने गर्दछन ।अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरु आइपुग्ने गर्दछन ।यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ ।
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै ताल फेवाताल,बेगनास,रुपाताल,मैदी,दिपाङ,खास्टे,गुँदेताल न्यूरेनी कमलपोखरी हरू सिमसार क्षेत्र हुन। नेपालमा ठुला–साना गरी ४ हजार जति सिमसार क्षेत्र रहेका छन् । पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छ । यस्ता अधिकांश सिमसार क्षेत्रहरू एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् ।

पोखराका तालहरू हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ ।अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।

आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हो र कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।